बिहिवार, आश्विन २२ गते २०८३
प्रदेश

गण्डकी प्रदेशमा अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पारित, बागमतीमा दुई विधेयक स्वीकृत

आइतवार , फाल्गुण १४, २०७९

काठमाडौं। गण्डकी प्रदेश सभाबाट अध्यादेश प्रतिस्थापन गर्ने दुई विधेयक पारित भएका छन् । प्रदेश सभाको आज बसेको बैठकले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो ।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ती दुई अध्यादेश प्रतिस्थापन विधेयक फागुन ८ गते प्रदेश सभामा प्रस्तुत गरेका थिए। उक्त विधेयकको फागुन १० गते प्रदेश सभामा सामान्य छलफल र फागुन १४ गते दफावार छलफलपछि पारित भएको हो ।

त्यसअघि पहिलो प्रदेश सभाको कार्यकाल सकिएपछि गत असोज ७ मा बसेको अघिल्लो प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यी दुई अध्यादेश जारी गरेको थियो । 

यस्तै,बागमती प्रदेशसभा बैठकबाट दुई विधेयक स्वीकृत भएका छन् । आज बसेको बैठकबाट स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत स्वीकृत भएका हुन् ।

बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले विधेयक समितिको प्रतिवेदनसहितको दुवै विधेयक स्वीकृतिका लागि पेश गरेका थिए। यसअघि, विशेष समितिका संयोजक डा. दिनेशचन्द्र देवकोटाले दुबै विधेयक समितिको प्रतिवेदनसहित प्रस्तुत गरेका थिए।  

बिधेयकमा १८ वटा संशोधन परेकोमा समितिमा छलफल गरि परिमार्जनसहित प्रतिवेदन तयार गरिएको संयोजक देवकोटाले संसदमा जानकारी गराएका थिए। 

उता, लुम्बिनी प्रदेशसभाको बैठक आगामी बुधबार बस्ने भएको छ । माघ २० गते बसेर अनिश्चितकालका लागि स्थगित गरिएको लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि बोलाइएको हो । प्रदेशसभाको छ्रैठौं बैठक वुधबार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार