काठमाडौं। गोरखाको धार्चे गाउँपालिकामा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले उत्पादन गरेको ४.५५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका बीच आयोजनाको भर्चुअल रुपमा उद्घाटन गरेसंगै राष्ट्रिय प्रसारणमा जोडिएको हो । यो हाइड्रोमा गैरआवासीय नेपालीहरूको लगानी छ।
गोरखा जिल्लाको उत्तरी भू-भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बूढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सकिएको आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी छ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतामा २०८० साल असार ३० गते विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
तर, ६ महिना अगावै सम्पूणर् निर्माण कार्य पुरा गरेर उत्पादन सुरु गरेको छ ।
उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए। प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गरे।
विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताउदै प्रधानमन्त्रीले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे।