आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल ८ बर्षपछि विश्वकपमा छनौट भएको छ । बिहीबार अजमानको इडन ग्रार्डेन ओभलमा भएको निणर्ायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित हात पार्दै २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।
नेपालले २०१६ यता आईसीसी यू-१९ विश्वकप खेलेको छैन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।
नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए ।
नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।
यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् ।