बुधवार, आश्विन १४ गते २०८३
ए डिभिजन लिग

एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात, मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पाले अंक बाँडे

शनिवार , फाल्गुण २०, २०७९

सहिद स्मारक ’ए’ डिभिजन लिगमा विभागीय टोली एपीएफ र चर्च ब्वाइज युनाईटेडले विजयी सुरुआत गर्दा मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाडेका छन् ।

लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।

एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरे । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ भने थ्री स्टारले हारबाट लिगको सुरुआत गरेको छ ।

यस्तै, च्यासल मैदानमा आज नै भएको अर्को खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको छ । चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक-एक गोल गरे भने पुलिसका रबि पासवानले एक गोल फर्काएका थिए । 

यसैगरी, आज नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएका अर्कोे खेलमा मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

मनाङले सुरुआती अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । खेलको १४ औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले सुरुआती अग्रता बनाएको थियो ।

तर, ८५ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मनाङ र हिमालयन पहिलो खेलमा १ अंक जोड्दै लिगको सुरुआत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार