काठमाडाैं। यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले शानदार जित निकालेकाे छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो ।
दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको हो ।
नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुदै १८७ रन मात्र बनायो । यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए ।
अर्का ओपनर आसिफ खानले ८२ रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए ।
भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।
एकसमय यूएईलाई जितका लागि ५७ बलमा ५४ रन चाहिएको अवस्थामा यूएईका लागि संयमित इनिङ खेलेका ओपनर आसिफ खान र कार्तीक मियाप्पनलाई लाई आउट गर्दै दीपेन्द्रले लगातार विकेट लिएपछि नेपाल जिततर्फ बढेको थियो ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।
याेसंगै नेपालले विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ ।