नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन नेकपा (माओवादी केन्द्र) बाधक बनेको आरोप लगाएका छन् ।
राष्ट्रपति पदको निर्वाचनका विषयमा आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बार भन्दा पनि ऐन, कानुन बनाउन नदिएको आरोप लगाएका हुन्।
उनले बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरे।
ओलीले शान्तिप्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव पनि दिए।
‘तर, उहाँ (प्रचण्ड)ले विभिन्न बाहनामा मान्नु भएन । म दोस्रो पटक प्रधानमन्त्री हुँदा र उहाँ र म एउटै पार्टीमा रहेका बेला पनि करीब ३ वर्षसम्म यो विषयलाई टुंगोमा लैजाउँ, अलमल्याउनु हुँदैन त्यो लम्बियो भने त्यसले पछि जटिल समस्या सिर्जना गर्छ भन्दा मेरो कुरामा ध्यान दिनुभएन,’ ओलीले भने, ‘मैले शेरबहादुर देउवा र प्रचण्ड दुवैलाई तपाईँहरु सरोकारवाला पक्ष म तटस्थ छु । तपाईँहरुले जे-जे भन्नुहुन्छ म दायाँबायाँ औँठा छाप होइन पञ्जा र खुट्टाले पनि सही गराउन तयार छु भन्दा मान्नु भएन ।’
ऐन बनाउने बेलामा ऐन बनाउन नदिने, काम गर्ने बेलामा काम गर्न नदिने, समिति र आयोग बनाउने बेलामा बनाउन नदिने, वर्षौसम्म व्यवधान खडा गर्ने काम भएको पनि उहाँले गुनासो गरे ।
‘सत्य तथा मेलमिलाप निरुपण आयोगमा माओवादीकै नेताले व्यवधान खडा गरेर काममा अवरोध भयो । हामी अहिले पनि चाहन्छौँ । यो शान्ति प्रक्रिया हामीले अघि बढाएको हो । टुङ्याउनुपर्छ’, ओलीले भने, ‘यसलाई अनवरत राख्ने र पीडित सधैँ पीडित भै राख्ने, पीडितले न्याय नपाउने कुराको अन्त्य हुनुपर्छ भनेर अस्ति भर्खरको सरकारलाई पनि भनेको हो । तर, प्रचण्डको त्यतातिर ध्यान भएन । भित्रभित्र बेइमानी गर्ने, धोका लिने जस्ता कुरामा मात्रै अघि बढ्नुभयो ।’