काठमाडाैं। निर्वाचन आयोगले राष्ट्रपतिमा खस-आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने बताएको छ । आयोगले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
आयोगको आजको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ’यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ‚’ भन्ने व्यवस्था छ ।
उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता भोलि हुँदैछ । उपराष्ट्रपति चयनको लागि आगामी चैत्र ३ गते मतदान हुनेछ ।