काठमाडौं। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएपछि दलहरु अब उप-राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित भएका छन् ।
उपराष्ट्रपतिको निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयनको समय तोकिएको छ । त्यसअघि दल र नेताहरुले उम्मेदावर टुंग्याउनका लागि दौडधूप तीव्र पारेका छन् ।
एकातर्फ उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिनेगरि गठबन्धनभित्र भएको भनिएको सहमति र अर्कोतिर निर्वाचन आयोगले पनि फरक लिंगको उम्मेदवार हुनुपर्ने संकेत गरेपछि नेताहरु शशंकित बनेका छन् ।
नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख गरिएको छ । निर्वाचन आयोगले पनि शुक्रबार एक विज्ञप्ती जारी गर्दै त्यही अनुासरको उम्मेदवारी दर्ता गराउन निर्देशन समेत दिएको छ ।
शुक्रबार संहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा उपसभापति पूणर्बहादुर खड्का नेतृत्वमा रहेको ८ दलीय कार्यदलको बैठकमा उपराष्ट्रपतिबारे छलफल भइरहेका बेला कांग्रेस सचेतक रमेश लेखकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग जिज्ञासा राखेका थिए।
जवाफमा थपलियाले उपराष्ट्रपति फरक लिङ्गबाट हुनुपर्ने आयोगको धारणा रहेको बताए। यो अभिव्याक्तिलाई गठबन्धनका नेताहरुले संविधानभन्दा माथि निर्वाचन आयोग पनि नभएकाले आफ्नो ढंगले व्याख्या गर्न नहुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले पनि महिला नै उम्मेदवार भए राम्रो हुने निश्कर्ष निकालेको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।
दलहरु विभाजित
राष्ट्रपतिमा एकजुट भएर रामचन्द्र पौडेलललाई जिताएका दलहरु उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने बिषयमा भने विभाजित बनेका छन् । यसअघि भएको सहमतिअनुसार जनता ससमाजवादी पार्टीले उपराष्ट्रपति पाउने भनिएपनि ९ दलमै आबद्ध ३ दललले उम्मेदवार उठाउने निणर्य गरेका छन् ।
जसपाले पार्टी संसदीय दलका नेता समेत रहेका रामसहायप्रसाद यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरिसकेको छ ।
आज नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीले ममता झालाई उम्मेदवार उठाउने भएको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए।
सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ भने उमेर नपुगेका कारण उम्मेदवार बन्न नपाउने भएकी छिन्। गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष उल्लेख गरिएको छ । उपराष्ट्रपति बन्नका लागि कम्तीमा ४५ बर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यहीबिचमा नेपाली कांग्रेसका उप-सभापति पूणर्बहादुर खड्काले पनि गठबन्धनमा उपराष्ट्रपति कस्लाई दिने भन्ने बिषयमा निणर्य नभएको बताएका छन्।
यता जनता समाजवादी पार्टीले भने आफूले नै साझा उम्मेदवारी दिने दावी गरेको छ । पार्टीका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले उपराष्ट्रपति जसपाले पाउने सहमति भईसकेको दावी गरे। महिला समावेशिताको बिषयमा यादवले महिला समावेशितालई सम्मान गरेको बताउदै पार्टीले गरेको निणर्य पनि उल्ट्याउन नसक्ने जवाफ दिए।
एमालेले बोलायो सचिवालय बैठक
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा भोलि बिहान ९ बजे बोलाइएको बैठकमा उपराष्ट्रपतिको चुनावबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने वा दिने भन्नेबारे एमालेले निणर्य लिएको छैन । उम्मेदवारी दिने वा नदिने भन्नेबारे पार्टीभित्र अनौपचारिक छलफल चलिरहेको एक नेताले बताए ।
प्रतिवेदन पेश
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्।
उनले शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गरेका हुन्। थपलियाले संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन्।