काठमाडौं। काठमाडौंको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा दुई विद्यर्थी समूहबीच खुकुरी हानाहान भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि आज दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो ।
एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ । अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको बताएका छन्।
घाईते हुनेमा राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे रहेका छन् । उनले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको बताए।
झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ । आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आजजाउमा रोक लगाइएको छ ।
विद्यार्थीहरु क्याम्पस बाहिर भेला भएका छन् भने भित्र क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीच वार्ता भइरहेको छ । नेविसंघका इकाई सभापति सञ्जिव ढकालले फर्जी विद्यार्थीको विषयमा विवाद हुँदा झडप भएको जानकारी दिए।
क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दवाव र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मतदाता नामवली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।
शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।