काठमाडौं। नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् ।
संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको र उपराष्ट्रपति पनि पुरुष नै हुन नहुने भन्दै जसपाका यादवविरुद्ध उजुरी परेको हो । एमालेले रामसहायप्रसाद यादवको उम्मेदवारी कानुनविपरीत रहेकोसमेत दाबी गरेको छ ।
‘संविधानको व्यवस्थालाई बेवास्ता गरी श्री रामसहायप्रसाद यादवको उम्मेदवारी परेकोले पुरुषबाहेक महिलाहरु अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उल्लेखित संवैधानिक, कानुनी व्यवस्था तथा निर्वाचन आयोगको मिति २०७२/११/२६ को निर्णय र सो आधारमा जारी निर्देशनसमेतको विरुद्धमा हुँदा वहाँको उम्मेदवारी खारेज गरी पाऊँ ।’ उनीहरूको उजुरीमा लेखिएको छ ।
संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने’ भनिएको छ । सो धाराले भनेको छ, ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।’