राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लब र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३-० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पुलिसबिरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औँ मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ८० औँ मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए ।
सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३-० को सहज जित दिलाए । यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय बेहोरको पुलिस अंकविहीन छ ।
लिग अन्तर्गत आजै भएको अर्को खेलमा अर्को विभागीय टोली एपिएफ जावलाखेल युथ क्लबसँग गोल रहित बराबरीमा रोकियो । दुवै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन ।
१० खेलाडीमा समेटिएको एपिएफबिरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लबले एक अंकमा चित्त बुझाएको हो ।