काठमाडौं। सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा भोलि देखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निणर्य गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए।
बढेको दूधको मूल्य भोलि लागू हुने उनले बताए। अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताए। यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि आज १ चैतदेखि लागू गर्ने निणर्य गरिएको उनले बताए।
’महाप्रवन्धक झाका अनुसार दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने छ ।गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निणर्य गरेको थियो ।
३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए ।
निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।