एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् । मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले आज एकसाथ विज्ञप्ति जारी गरेका छन् ।
वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा रुस-चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूणर् द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने कार्यसूची समेत रहेको छ ।
चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । मस्कोसँग बेइजिङको बढ्दो हिमचिमलाई लिएर पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत भएका छन् ।