बुधवार, आश्विन १४ गते २०८३

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

शनिवार , चैत्र ४, २०७९

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रूस पठाउनेलगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आईसीसीको आरोप छ।

आईसीसीका न्यायाधीशहरूले पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बीबीसीले उल्लेख गरेको छ। मारिया रूसको बालअधिकार आयुक्त हुन्। युक्रेनमा आक्रमणपछि युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रूस लगिएको हुँदा उनलाई समेत पक्राउ पुर्जी जारी गरिएको हो। 

युक्रेनमा २४ फेब्रुअरी २०२२ बाट रूसले युक्रेनमाथि हमला गरेको आईसीसीले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो। जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधी विरुद्ध मुद्दा चलाइन्छ। पुटिन र रूसविरुद्ध युद्ध अपराधमा यही फेबुअरी २२ मा मुद्दा दायर भएको थियो। यस अदालत रोम स्टेट्युटमार्फत गठन भएको हो। 

यसैबीच, युक्रेनमाथिको संयुक्त राष्ट्रसंघीय छानबिन आयोगले सयौं युक्रेनी बालबालिकालाई अवैध रूपमा रूस पठाएको प्रमाण रहेको बताएको छ। रूसले बालबालिकालाई रूसी नागरिकता लिन बाध्य पार्ने लगायतका गतिविधि गरेको आयोगको रिपोर्टमा उल्लेख छ। युक्रेन सरकारको तथ्यांकमा जबर्जस्ती रूस लैजाने बालबालिकाको संख्या १६ हजार २ सय २१ रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार