काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने दाबी गरेका छन्।
आईतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सतप्रतिशत सांसदको विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको जिकिर गरेका हुन्।
यसअघि आफूले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनको भनाई छ।
पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएपछि प्रचण्ड पुनःविश्वासको मत लिन लागेका हुन्।
१० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
यसैबीच,नेपाली कांग्रेस,रास्वपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निणर्य गरेका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मत दिन ह्वीप लगाउने निणर्य गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निणर्य गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निणर्य गरेको हो । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निणर्य गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए।
आजकोे बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ । प्रवक्ता महतले यही मापदण्डका आधारमा नेतृत्वले सबैको सुझाव सल्लाह लिएर ककसलाई पठाउने भन्ने निणर्य गर्ने बताए।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निणर्य गरेको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त वैठकले सो निणर्य लिएको हो । पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।
उता, नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निणर्य गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निणर्य गरेको हो ।
सरकारमा जाने नजाने विषया अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निणर्य समेत गरेको छ ।