सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। जनस्तरबाट त्यसकाे चर्काे विराेध भएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएकाे हाे।