काठमाडौं। दोश्रोपटक विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहँदा कांग्रेसमा भने मन्त्रीका आकांक्षीको लर्को लागेको छ ।
अहिले पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा आकांक्षीहरुको दैनिकजसो लार्को लाग्ने गरेको छ ।
केही सातायता सभापति देउवा, नेता शेखर कोइराला, उपसभापति पूणर्बहादुर खड्का, महामन्त्री गगन थापालगायत नेताको निवासमा कार्यकर्ताको भीड छ ।
गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुंगो नलाग्दा कांग्रेस कस्को नेतृत्वमा सरकारमा जाने र क-कस्लाई मन्त्री बनाउने भन्नेबारे टुंगो लागेको छैन । उपसभापति पूणर्बहादुर खड्काले गठबन्धनमा मन्त्रालयको बाँडफाँट टुंगिएपछि मात्रै पार्टीमा छलफल हुने बताए।
गठबन्धनमा कांग्रेसले गृह वा अर्थसहित १० मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहालले भने ७/८ वटा मन्त्रालयको प्रस्ताव गरेका छन्।
कांग्रेसबाट उपप्रधानमन्त्रीकै आकांक्षीसमेत आधा दर्जनभन्दा बढी रहेको बुझिएको छ । मन्त्री नबन्ने घोषणा गरिसकेका उपसभापति पूणर्बहादुर खड्का र महामन्त्री गगन थापा पनि स्वभाविक दावेदार देखिएका छन् ।
त्यस्तै, चाहेजस्तो मन्त्रालय पाए नेता शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह पनि कांग्रेसकातर्फबाट नेतृत्व गरेर जान प्रयासरत छन् । तर कांग्रेसकातर्फबाट सरकारमा नेतृत्व गरेर जानेमा उपसभापति खड्का र पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रबल सम्भावना छ ।
नेताहरूका अनुसार सभापति देउवाले सुदूरपश्चिमबाट एनपी साउदलाई मन्त्री बनाउने सूचीमा राखेका छन् । त्यस्तै, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री किशोरसिंह राठोर र जीवन परियार, महिलाबाट सीता गुरुङ र मधेसबाट तेजुलाल चौधरीको नाम मन्त्रीका लागि चर्चामा छ ।
कोशी प्रदेशबाट रामहरि खतिवडा, डिकबहादुर लिम्बू र सुनिल शर्मा पनि मन्त्रीका लागि लबिङमा छन् । कांग्रेसले अर्थ मन्त्रालय लिएको अवस्थामा प्रकाशशरण महत वा विनोद चौधरीमध्येबाट अर्थमन्त्री बनाउने तयारी छ ।
मन्त्रीमा शेखर समूहले खोज्यो हिस्सेदारी
नेपाली कांग्रेसको शेखर समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ । विहीबार आफ्नो समूहको बैठकमा डा. शेखर कोइरालाले पनि मन्त्रालय भागबण्डाबारे सभापतिले केही नभनेको बताएका थिए।
आफ्नो सम्पर्क कार्यालय, बालुवाटारमा भएको छलफलमा नेताहरुले सरकारमा सम्मानजक सहभागिता हुनुपर्ने बताए। कांग्रेसले ७ पाउदा त्यसमध्ये ३ र ९ पाए चार मनत्रालयमा हिस्सेदारी हुनुपर्ने माग राखेको छ ।
नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए जान डा. शेखर कोइरालालाई सल्लाह दिएका छन् । यद्यपी उनले भने केही पनि जवाफ दिएनन्।