काठमाडौं। नेपाली कांग्रेसका महामान्त्री गगनकुमार थापाले प्रचण्ड-देउवाले मलाई अर्थमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेका छन्।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले अर्थमन्त्री बन्न भन्नुभएको कुरामा सत्यता नरहेको बताउँदै उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने रहेको बताए ।
उनले भने, ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु,लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडि बढेको छु ।’
८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी रहेको नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने उनले बताए ।
उनले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
नेता थापाले गठबन्धनको संस्कृति निर्माण गर्न उन्नत व्यवहार आवश्यक रहेको बताए । उनले नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेको भए पनि नेकपाले पाँचवर्ष खेर फालेको बताए ।
उनले भने, ‘हामी नेकपासँग निर्वाचन लडेकै हौं, हामीले जिम्मेवारी आएपछि निर्वाचन सम्पन्न गर्यौ ।’ पाँच वर्षसम्म स्थिर सरकार दिन्छौं भनेर निर्वाचन भन्दा अघि गठबन्धन र तालमेल गरिएको तर पुस १० गते सम्हाल्न नसकेको उनले बताए ।
उनले पुस १० गते भएको गल्तीलाई फागुन १०-१२ गतेतिर सच्याइएको बताए । नेता थापाले केही दिनमा मन्त्रीमण्डलले पूणर्ता पाउने बताए ।