काठमाडौँ । रसुवागढी – केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधबार बसेको पहिलो बैठकमा सो सहमति भएको हो ।
सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढीरकेरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ । यसैगरी तातोपानी –झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी÷पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु हुनेछ ।
संयन्त्रको बैठक आज बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।
नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ ।
नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको दूतावासले जनाएको छ ।