काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिले मन्त्रिपरिषद् विस्तारका लागि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
बिहीबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिले तनहुँ- १ र चितवन- २ का लागि उम्मेदवारको नाम तय गर्दै मन्त्रिपरिषद विस्तार हुँदा मन्त्री छान्ने जिम्मा सभापतिलाई दिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
प्रधानमन्त्री र सत्तारुढ दलहरुले आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गरी गृहकार्य गरिरहेका छन्। भागवण्डामा कांग्रेसले आठ मन्त्रालय पाएको छ ।
सभापति देउवाले उपसभापति पूणर्बहादुर खड्काको नेतृत्वमा मन्त्रीहरु पठाउने तयारी गरेका छन्। कांग्रेसले पाउने मन्त्रालयहरुका बारेमा औपचारिक सूचना अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपी अर्थ, परराष्ट्र, रक्षा सहितका मन्त्रालय कांग्रेसको भागमा पर्ने बताइएको छ ।
बिहीबारै फेरी बस्ने सत्तारुढ गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्। बिहीबार बिहान पनि प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । यद्यपी छलफलले निकास भने पाएको थिएन ।
यस्तै कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये इतर समूहले ३ मन्त्री दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि शेखर-गगन समूहको छुट्टै छलफलपछि तीन मन्त्रीको अडान राखेको हो ।
आफ्नो पक्षलाई तीन मन्त्रीको बटमलाइनसहित छलफलको निष्कर्षबारे डा. शेखर कोइरालाले सभापति देउवासँग पनि छलफल गर्नुहुने भएको छ ।
पार्टीका अधिकांश शीर्ष नेता मन्त्रीको आकांक्षी भएकाले देउवालाई मन्त्री छान्न सकस परिरहेको छ ।