काठमाडौं। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।
लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरेका छन् ।
लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरेका थिए । खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरेका हुन् ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे ।