१६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुआत गरेको छ ।
अहमदाबाद क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।
चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले ।
रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।
राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।
चेन्नाईका लागि आजकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।
पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले ।
मोईन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए ।
घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।
पहिलो खेलमा जित हात पारेको गुजरात १० टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । हारसँगै चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १)मुम्बई इन्डियन्स,२)कोलकत्ता नाईटराईडर्स,३)राजस्थान रोयल्स,४)दिल्ली क्यापिटल्स र ५)लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
समूह बी मा १)चेन्नाई सुपर किंग्स, २)सनराईजर्स हैदरावाद,३)गुजरात टाईटन्स,४)रोयल च्यालेन्जर्स बेंग्लोर र ५)पन्जाब किंग्स रहेका छन् ।