थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।धनगढी रंगशालामा आज भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टारले पहिलो पटक खप्तड गोल्डकपको उपाधी जितेको हो ।
मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ ।थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक-एक गोल गरे ।
अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए ।उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो ।