बुधवार, आश्विन १४ गते २०८३

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

बुधवार , चैत्र २२, २०७९

काठमाडौं। पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ गोल अन्तरले पराजित भएको छ ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक-एक गोल गरे । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

 खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २-० को अग्रता बनायो । ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३-० ले अघि रह्यो ।

त्यसपछि, खेलको ४८ औं मिनेटमा भियतनामकी कप्तान न्हुले व्यक्तिगत दोस्रो गोल गरिन् । यता, नेपालको तर्फबाट सावित्रा भण्डारीले खेलको ७९ औं मिनेटमा एक गोल गर्दै नेपाललाई ४-१ को स्थितिमा ल्याइन् ।

 तर खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५-१ को जित दिलाईन् । छनोटको समूह ’सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेको हो ।  समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार