आइतवार, श्रावण २४ गते २०८३

लामो समयपछि फेवातालमा डुङ्गा सञ्चालनमा आयो   

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको थियो । 
फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।     
     
भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए। यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो । साथै यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा रहेको जनाइएको छ ।

फेवातालमा डुङ्गा शुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएको उनको भनाई छ । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् ।

निषेधाज्ञाका कारण घरमै बसेका उनिहरुमा पुनःव्यवसाय शुरु भएपछि उत्साह छाएको हो । तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ ।

डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।     
     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार