शुक्रवार, आश्विन १६ गते २०८३

नाकामा राजस्व संकलन कम हुनुको कारण बुझाउन अर्थमन्त्रीको निर्देशन

सोमवार , चैत्र २७, २०७९

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागसँग भन्सार नाकामा राजस्व संकलन कम हुनुको कारण माग गरेका छन्। सोमबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन आगह गरेका हुन्।

मन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजस्वमा गिरावट आएको भन्दै राजस्व गिरावट आउनुको कारण पनि मागे। उनले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्यांक दिन समेत माग गरे।

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भई वा चोरी पैठारीका कारण राजस्व संकलन कम भएको भए यसको वास्तविक तथ्यांक विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजस्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको भन्दै यसलाई भन्सार विभागको नेतृत्वले गम्भिरताका साथ लिनु पर्ने मन्त्री महतको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार