चीनले ताइवान वरिपरि सैन्य अभ्यास अन्त्य गरेको घोषणा गरेको छ । चिनियाँ सेनाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेको जनाउँदैै वास्तविक लडाइँ परिस्थितिहरूमा विभिन्न एकीकृत सैन्य क्षमताको परीक्षण गरेको जनाएको छ ।
चीनले तीन दिनेसैन्य अभ्यासका क्रममा ताइवानलाई सिल गर्नुका साथै सटीक हमलाको अभ्यास गरेको थियो । ताइवानका राष्ट्रपति साइ इङ्ग-वेन ताइपेई र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीचको भेट लगत्तै त्यसको प्रतिक्रियास्वरुप चीनले शनिबार अभ्यासको घोषणा गरेको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आज अभ्यासबारे ब्रीफिङ गर्दै ताइवानको स्वतन्त्रता पृथकतावादको कुनै पनि रूपको दृढतापूर्वक विरोध गर्ने बताउनुभएको छ ।
त्यस्तै, पूर्वी थिएटर कमाण्डका प्रवक्ता शी यीले एक विज्ञप्ति जारी गर्दै चीनको सेना कुनै पनि प्रकारको ताइवान स्वतन्त्रता र विदेशी हस्तक्षेपलाई हराउन तयार रहने उल्लेख गरेका छन्।
यता, ताइवानले अभ्यासको निन्दा गरेको छ भने अमेरिकाले चीनलाई संयम हुन आग्रह गरेको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान वरपर ७० चिनियाँ सैन्य विमान र ११ वटा जहाज फेला पारेको जनाएको छ ।
चीनले ताइवानलाई आफ्नै प्रान्त भएको जनाएको छ भने ताइवानले आफूलाई एक स्वतन्त्र देश दाबी गर्दै आएको छ ।
केहि समयअघि भएको चिनियाँ जनकंग्रेसको बैठकमा राष्ट्रपति सि जिनपिङले ताइवानलाई चीनकै प्रान्तको रुपमा राख्न जुनसुकै बेला बल प्रयोग गर्न सक्ने बताउनुभएको थियो ।