शुक्रवार, आश्विन १६ गते २०८३

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

बिहिवार , चैत्र ३०, २०७९

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन्।

बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि बिहीबार अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।

पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए। पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।

तर दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि अञ्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासङ्घको हिजो भएको पहिलो चरणको निर्वाचनमा अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे भने उमेशलालले ३१.५१ मत प्राप्त गरे। साथै संघईले ३०.४६ मत प्राप्त गरे।  

महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्।

यस्तै, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार