काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ ।
कोभिड–१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना संक्रमण जोखिमबाट बच्न सबै परीक्षा केन्द्रहरूलाई मापदण्ड अपनाउने व्यवस्था गर्न आग्रह गरेको बताए । उनका अनुसार सबै परीक्षा केन्द्रलाई हात धुने साबुन,पानी, मास्क र सेनिटाइजर प्रयोग गर्न लगाइएको छ ।
परीक्षार्थीहरूलाई सामाजिक दूरी कायम गराउन पनि त्रिविले आग्रह गरेको छ । समस्यामा परेका परीक्षार्थीहरूको लागि पायक पर्ने केन्द्र छनोट गरी परीक्षा दिनसक्ने त्रिविले व्यवस्था गरेको छ ।
गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ । परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ । स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट सञ्चालन हुने छ ।