काठमाडौं । टोक्यो ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ ।
३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो ।
२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ ।
टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ ।
औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।
टोकियो ओलम्पिकमा पाँच नयाँ खेलसँगै विभिन्न ३३ खेलको ३३९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमा पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट छन् ।
गौरिका, एलेक्स र सरस्वती युनिभर्सल कोटामा ओलम्पिकका लागि छनोट भएका हुन् भने कल्पना र सोनियाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा खेल्ने अवसर प्राप्त गरेका हुन् ।
यस पटक ओलम्पिकको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले संयुक्त रुपमा बोक्नेछन् ।
नेपालबाट टोकियो ओलम्पिक सहभागी ५ खेलाडी मध्ये सुटिङकी कल्पना र जुडोका सोनियाले ओलम्पिक उद्घाटनको भोलिपल्टै प्रतिस्पर्धा गर्नेछन् ।