हिमाल नागी,नदी कुवा छन् ।
खोला र ताल,वन र गुफा छन् ।।
मनोरम छटा,यही धरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
१।।
माछापुच्छ्रे,हिम नीलगिरी ।
पाइन्छ हेर्न,रुपियाँ नतिरी ।।
हरियोपरियो,खेत गरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
२।।
उद्योगहरू,र कारखाना ।
सबै यहाँका,असल खजाना ।।
विश्वास अझै,छ पाखुरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
३।।
विजयपुर साथ,प्रवाह सेती ।
किसान गर्छन्,सिंचाइ खेती ।।
बेमौसिम छन्,फल टहरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
४।।
अति शान्त ठाउँ,मौसम राम्रो ।
सब नेपाली,यो घर हाम्रो ।।
नौला आकृति,कति पहरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
५।।
स्वदेशीहरू,विदेशी सबै ।
यतै आउँछन्,अन्यत्र नगै ।।
घुमिरहे कुना,र कन्दरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
६।।
मिजासिला छौं,नि पोखरेली ।
स्वागत गर्छौं,हाँसी खेली ।।
रमाउँछु शैल,र टाकुरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
७।।
म सराङकोट,सूर्य उदयमा ।
नित हेर्न जान्छु,प्रात समयमा ।।
विन्ध्यवासिनी,र महेन्द्र गुफा ।
म भाग्यमानी,छु पोखरामा ।।
८।।
अपूर्व मौका,नछुटाउनुहोस् ।
घुमौं सबैले,अब आउनुहोस् ।।
सौन्दर्य हेर्नु,छ पोखरामा ।
म भाग्यमानी,छु पोखरामा ।।
९।।
(स्कन्धक) हृषीकेश बराल पोखरा -२६ कास्की गण्डकी प्रदेश ।