काठमाडौं। सरकारले ब्यापक सुधार भएको दाबी गरिरहदा नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको देखिएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ । यो संख्या विश्व बैंक तथा आईएमएफले गरेको भन्दा पनि करिब आधा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।
तथ्यांक कार्यालयले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ ।
प्रतिव्याक्ति आय १ हजार ३ सय ९९
यस्तै चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो । कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो ।
गत वर्षको तुलनामा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।
अर्थतन्त्र गम्भीर, अब सचेत होउ
अर्थतन्त्र गम्भीर रहेको अवस्थामा निजी क्षेत्रले एक वर्षदेखि बजारमा माग नभएको र कारोबार घटेको बताइरहेको छ । तरपनि सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकले भने एकअर्कोलाई दोष दिएर उम्किने गरेका छन् ।
यसअघि राष्ट्रियसभामा अर्थतन्त्रसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भयो तर, अर्थमन्त्रीले सुधारका उपाय स्पष्ट रुपमा प्रस्तुत गर्न सकेनन्। विभागले गरेको अनुमानले अर्थतन्त्र विस्तारै मन्दीतर्फ जान थालेको देखिएको छ ।
अर्थविद्हरुले पनि सरकारले अर्थतन्त्र ठिक ठाउँमा छ भनेर गरेको दावी अब झुठो सावित भएको र गम्भीर कदम नचालिए थप संकट आउने सम्भावनालाई बढावा दिएको बताएका छन् । अर्थविद् डा.डिल्लीराज खनालले सरकारले पुंजिगत खर्च बढाउनुपर्ने र रकमान्तर रोक्नुपर्ने बताए।
उनले भने, ''३० पतिशत भन्दा बढि पुँजिगत खर्च गरेको छैन। अरु प्रकारले अरु प्रकारले जसले अर्थतन्त्रलाई खासगरि बजेटमार्फत अर्थतन्त्र सच्याउने जिम्मेवारी पाएको छ, उनीहरुले झनै त्यो क्षेत्रलाई उपेक्षा गरेको छ। राष्ट्र बैंकले पनि ब्याजदर र तरलता घटिरहेको छ भन्दै पञ्छिने र सरकार पनि लाञ्छाना लगाउनमै ब्यस्त छ यो गम्भीर कुरा हो ।''
अर्थतन्त्रमा सुधारका बजेटबाटै प्रयत्न हुन्छ भन्नु सान्दर्भिक नभएको बताउदै उनले छुट्टै कार्ययोजना ल्याउनुपर्ने बताए। आगामी बर्षको बजेटमा समेत अर्थतन्त्र सुधारका लागि ठोस योजना आउने छनक नदेखिएको उनको भनाई छ ।
उनले भने,'अर्थतन्त्रको संकटका लागि सरकारले ठोस कार्ययोजना बनाउनुर्पथ्यो। तर, सबैकुरा बजेटबाट गर्छौँ भन्नु गलत हो। तर अहिले हामी त्यतीबेला गाछौं भन्ने र एकले अर्कोलाई दोष दिने परिपाटी गलत छ। आगामी आर्थिक बर्षको बजेट तर्जूमाको सन्दर्भमा पनि अर्थतन्त्र उकास्नका लागि खासै पहल भएको मलाई लागेको छैन।'