आइतवार, श्रावण २४ गते २०८३

मन्त्रीमण्डल बिस्तारमा प्रधानमन्त्री देउवालाई सुझाव !

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । अहिलेको संविधान अनुसार मन्त्रीमण्डल २५ जना भन्दा बढीको बनाउन मिल्दैन । तपाई ठुलो आकारको मन्त्रीमण्डल बनाउने भनेर आलोचित हुनुहुन्छ । त्यसैले,

१ यसपटक २०-२२ जना भन्दा बढी मन्त्रीहरु न बनाउनुहोस् । किशुन जी ले जम्मा १० जना मन्त्रीहरूलाई लिएर असल काम गरेको सम्झनुहोस् ।

२ उपप्रधान, राज्य, सहायक मन्त्री राख्दै नराख्नु होस् ।

३) कांग्रेस भित्रका शक्तिकेन्द्रहरु जस्तै, तपाई अर्थात देउवा, पौडेल, सिटौला, कोइराला, प्रकाशमान, गच्छदार, महत, निधि लगायत कसैका मानिसहरुलाई मन्त्री नबनाउनु होस् । केवल सक्षम, इमानदार, विवादरहित, पढेलेखेका, तपाईंले भनेको मान्ने तर तपाईसग ठाडो शिर गरेर प्रष्टसग आफ्ना बिचार र अडान राख्न सक्ने सक्कली कांग्रेसका सांसदहरूलाई मात्र मन्त्री बनाउनु होस् । युवाहरूलाई जोड दिनुहोस् । वृद्ध रोगी लाई संमान गर्नुस् तर मन्त्री नबनाउनु होस् । कुनै पनि नेताका आफन्त र नातेदारलाई पनि मन्त्री न बनाउनु होस् ।

४) मन्त्री बनाउदा महिलाहरुलाई उचित स्थान दिनुहोस् ।अनुकुल भएसम्म भौगोलिक उपस्थिति र समावेशी मिलाउन पहल गर्नुहोस् ।

५) गठबंधनका नेताहरूसग प्रष्ट कुरा गरेर उनीहरूबाट पनि यस्तै सांसदहरूको नामावली लिएर मन्त्री बनाउने प्रयास गर्नुस् । जस्तै जनार्दन शर्मा, पम्फा भुसाल औसतमा ठिक छन । गठबंधनका नेताहरू माधवकुमार, प्रचण्ड लगायतसग पारदर्शी रूपमा कुरा गर्नुस् ।

६) बिधि र पद्धतिमा निरन्तर लड्दै आएर तपाईलाई संसद पुनस्र्थापनको पक्षमा आउन झकझकाउने र साथ दिने वरिष्ठ नेता पौडेल लगायत पदाधिकारीसग प्रष्ट कुरा गरेर उचित परामर्श गर्नुस् ।

७) सचिवालय र सल्लाहकारको टिम सानो तर फ़ुर्तिलो बनाउनुहोस् । सल्लाहकार तपाईंले भनेको मान्ने, तपाई र आरजु मेडमको जयजयकार गर्नेलाई राख्ने होइन । बरु तपाईसग डर त्रास नमानिकन कुरा गर्न सक्ने लोभ लालच नभएका, अक्कल अनुभव भएका प्रष्टसग उपयुक्त सुझाव दिनसक्ने व्यक्तिहरु छनोट गर्नुस् । केही अवैतनिक सल्लाहकार पनि राख्नुहोस् । यस्ता सल्लाहकार बिषय विशेषज्ञ हुँदा अझै राम्रो हुन्छ ।

८) फुर्सद मिलाएर हरेक बिहान कम्तीमा ५-६ वटा पत्रीकाको हेड लाइन हेर्नुस् र पढ्नुहोस । त्यसमा लेखिएका समाचार, घटना, गुनासा कमजोरी, त्रुटि लाई आफ्नो मार्गदर्शनको रूपमा लिएर स्वीकार गरेर तुरुन्तै सच्याउने काम गर्नोस् ।

९) सामाजिक संजालमा प्राप्त आलोचना स्वीकार गर्नुस् । यसमा आउने सुझाव सल्लाह मनन गर्नुस् ।

१०) अहिले भागबन्डाको बेला होइन, बरु कोरोना महामारीको व्यवस्थापन गर्ने बेला हो । अर्थतन्त्रमा यसको नकारात्मक प्रभावबाट मुक्ति दिलाउने बेला हो । जनतालाई उचित राहत दिने बेला हो ।छिमेकी देशसग पारदर्शी सम्बन्ध बनाउने बेला हो । ओली सरकारले गरेका ज्यादती गल्ती कमजोरी सच्याउने बेला हो । बिकास निर्माणलाई गति दिने बेला हो । भ्रस्टाचार नगर्ने, गर्न नदिने बेला हो । सुशासनको सुरुवात गर्ने बेला हो ।

राष्ट्रियता, लोकतान्त्रिक विधि र पद्धतिको रक्षा गर्ने बेला हो । यी र यस्ता कामहरु गरेर कांग्रेस पार्टी बलियो बनाउने, बाटो बिराएका कम्युनिष्टहरुलाई मार्गदर्शन गर्ने बेला हो । प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको, पार्टीको सभापतिलाई १६५ जना सांसदहरुको समर्थन प्राप्त हुनु, एमालेको ओली गुट बाहेक सबै दलहरुको साथ हुनु, देशका बहुसंख्यक नागरिकको आश हुनु भनेको तपाईंको गुमेको छविलाई उज्ज्वल बनाउने र इतिहासमा नाम लेख्ने सुनौलो अवसर पनि हो । प्रधानमन्त्री ज्यू, देश, जनता, लोकतन्त्र, संविधान देखि लिएर कांग्रेस पार्टी, गठबन्धन र तपाई सम्मलाई राम्रो हुने कुरा यिनै हुन् । आगे तपाईंको जो इच्छा !

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार