शुक्रवार, आश्विन १६ गते २०८३
राष्ट्रिय गौरवकाे याेजना

हुलाकी राजमार्ग निर्माणको काम ७० प्रतिशत सकियो, वनक्षेत्रमा स्वीकृति नपाउदा कतै समस्या

शनिवार , बैशाख २३, २०८०

काठमाडौं। राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किलो मीटरमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।

हुलाकी राजमार्ग आयोजना निर्देशनालयले वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको जनाएको छ ।

अहिले अन्योल भएका ठाउँबाहेक अन्य स्थानको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माणको क्रममा छन् । आयोजना प्रमुख चुडाराज ढकालका अनुसार अहिलेसम्म दुई सय ११ किमी सडक र सत्तरी पुल निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको छ ।

रेखाङ्कनमा पर्ने चितवन, नवलपुर खण्ड, कपिलवस्तु, बाँके र दाङ वनको क्षेत्रमा स्वीकृति नपाएका कारण निर्माण अघि बढेको छैन। राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा रहेको थियो ।

आर्थिक वर्ष २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । तर भारतीय पक्षले बीचैमा छाडेर फर्किएपछि आर्थिक वर्ष २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर सरकारले बाँकी निर्माण अघि बढाएको थियो ।

आर्थिक वर्ष २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने विगतका वर्षमा कोभिडका कारणले निर्माण हुन नसकेकाले पनि राष्ट्रिय गौरवका सडक योजनाको लक्षित समय बढाउनुपर्ने बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार