काठमाडौं । डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आलिताल गाउँपालिका-६ की १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ल छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दका अनुसार डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट ती युवतीलाई घर पुर्याइदिन्छु भनि लगेर बीचबाटोमै बलात्कार गरिएको थियो । पीडित युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए ।
युवकहरूलाई पक्राउ गरेको चार दिन भइसक्दासमेत प्रहरीले घटना गोप्य राखेपछि पैसाको बार्गेनिङमा मुद्दा मिलाउन खोजेको आरोप प्रहरीलाई लागेको छ ।