काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले देशले यति धेरै जनप्रतिनिधि धान्न नसक्ने बताए ।
अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि जिकिर गरे । उनले भने, ‘यति ठुलो जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म र प्रदेश खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन । सबैभन्दा अनुत्पादक क्षेत्र यो हो । हामीले अब आँट गरौं हिजो कुनै सुविचारको साथ ल्यायौं होला। तर, आज यो ठिक भएन भन्ने हरेकको मनमा छ ।’
सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्र सुधार नआउँने बताए । देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।