पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । अदालतले पूर्वप्रधानमन्त्री खानको पक्राउ गैरकानुनी भएको बताउँदै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेको फैसला स्वीकार गर्नुपर्ने पनि बताएको छ । द डन समाचार पत्रका अनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले आज साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै उच्च अदालतमा हाजिर गराउन आदेश दिएको हो ।
यसअघि आजै उक्त इजलासले एक घन्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो ।
सोहीअनुसार ब्युरोले खानलाई सर्वोच्च पुर्याएको थियो । भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई मङ्गलवार अदालत परिसरबाटै पक्राउ गरिएपछि उनको वकिलले गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
पूर्वप्रधानमन्त्री खान पक्राउ परेसँगै उनका सर्मथकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । देशैभर चर्किएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका छन् ।