काठमाडौँ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । शनिवार बिहान महिला ४८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलो चरणमै सोनिया रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।
सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो । आजै सुटिङ तर्फ भएको महिला १० मिटर एयर छनौट चरणमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
कल्पना अन्तिम चरणमा भने छनोट हुन सकिनन् । छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । उनी ५० जना खेलाडीमध्ये ४६ औँ स्थानमा रहिन् ।
अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्।