काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार ब्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत थियो ।
चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव एक प्रतिशत, २१ प्रतिशत र १८ दशमलव छ प्रतिशतले कमी आएको छ ।
समीक्षा अवधिमा कूल वस्तु निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आई एक सय ३० अर्ब ९० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।