काठमाडौं। प्रधानन्यायाधीमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ समितिले गरेको छलफल टुंगोमा नपुगेर भाँडिएको छ । बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो ।
सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् । आफूहरुले संसदीय सुनुवाइ समिति नै अवैध छ भनेर सर्वोच्चमा उजुरी दिएपनि सर्वोच्चले नवौं दिनमा आएर दरपिठ गरिदिएको उजुरीकर्तामध्येका एक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बताए।
समितिले छलफलका लागि आह्वान गर्दा उजुरीकर्ताहरूले भने आफूहरूलाई सामूहिक रुपमा बोल्न दिनुपर्ने भन्दै आपत्ति जनाएका थिए ।
अहिले उजुरीकर्ताहले समितिको बैठकमा हुलहुज्जत गर्न थालेपछि उनीहरूलाई बाहिर निकालिएको छ । उजुरीमा केन्द्रित रहेर छलफल गर्न गरिएको अनुरोधलाई अटेर गर्दै समितिको वैधानिकतामा प्रश्न उठाएपछि सदस्य र उजुरीकर्ताबीच चर्चाचर्की परेको थियो । अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई मर्यादापालक लगाएर बैठकस्थलबाट बाहिर निकालिएको हो ।
सुरूमा एक्लाएक्लै छलफलमा नजाने अडान लिएका उजुरीकर्ता कर्मचारीसँगको वार्तापछि पछि समिति बैठकमा पस्न राजी भएका थिए । पछि ३ जनासँग सामूहिक छलफल गर्ने भनिएपनि उजुरीकर्ताले अनावश्यक विषय निकालेर हुलहुज्जत गरेको समितिका सदस्यले बताएका छन् ।
अहिले उनीहरूसँग समितिका सचिव पद्मप्रसाद पाण्डेले समन्वय गरिरहनुभएको छ । सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
कार्कीको भोलि संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले आज उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।