बुधवार, आश्विन १४ गते २०८३

विश्वभर बिभिन्न कारण विस्थापित हुनेहरुको सङ्ख्या ११ करोड नाघ्यो

बुधवार , जेठ ३१, २०८०

काठमाडौं। विश्वभर विस्थापित हुने मानिसको सङ्ख्या ११ करोड नाघेको छ । राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च आयोग (यूनएचसीआर) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार युक्रेन र सुुडान युद्धका कारण लाखौँ मानिसले घर छोड्नुपर्ने अवस्था आएसँगै विश्वभर विस्थापितहरुको संख्या ११ करोड १० लाख पुगेको छ ।

जेनेभामा बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्र सङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले गत वर्षमात्रै विश्वभर एक करोड ९० लाख मानिस विस्थापित भएको जनाउँदै सो तथ्याङ्क निकै ठूलो भएको बताउनुभएको रोयटर्सले जनाएको छ । ग्रान्डीले जबरजस्ती विस्थापितका लागि बाध्य पारिनु निन्दनीय रहेको पनि बताएका छन्।

विस्थापितमध्ये ३७.५ प्रतिशत अन्य देशमा शरण लिन पुगेका प्रतिवेदनमा उल्लेख छ । सन् २०११ मा सिरियाको द्वन्द्वअघि विश्वभर शरणार्थीको संख्या ४ करोड मात्रै थियो । यो संख्या २० वर्षसम्म स्थिर रहेकोमा सिरियाको युद्धपछि शरणार्थीको संख्या बढ्दै गएको हो ।

सन् २०२२ को अन्त्यसम्म १ करोड १६ लाख युक्रेनी विस्थापित भएका छन् । जसमध्ये ५० लाख ९० हजार देशभित्र र ५० लाख ७० हजार मानिस विदेशमा विस्थापित भएका छन् । यसैबीच, शरणार्थीको सङ्ख्या बढेसँगै युरोपमा देशहरुले कडा नियम ल्याउन थालेका छन् ।

राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख ग्रान्डीले शरणार्थी सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका देशहरु नै त्यसको पालनामा पछि हट्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे। युरोपियन युनियनका मुलुक पोल्याण्ड, हंगेरीले मुस्लिम तथा मध्यपूर्वी मुलुकका शरणार्थी अस्वीकार गर्ने बताएका छन् ।

बेलायतले पनि नयाँ कानुन ल्याएर सानो डुंगामा आउनेहरुलाई शरण नदिने भएको छ भने अस्ट्रेलियाले पनि कडा नियम ल्याएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार