काठमाडौं। नक्कली शरणार्थी प्रकरणको थुनछेक बहस सकिएको छ । सो प्रकरणमा ५ जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेशको तयारी छ ।
न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछन् । उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो । तर, प्रतिवादीको बहसमा धेरै वकिलहरूले नाम टिपाएकाले थप एक दिन बहस लम्बिएको हो ।जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीहरुको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो ।
आजको जवाफी वहशका क्रममा सरकारी एवं निजी वकिलहरुले यो प्रकरण सरकारीस्तरमै भएको संगठित अपराध भएको पटक पटक जिकिर गरेका छन् । गृह मन्त्रालय र यसको नेतृत्व नै यस प्रकरणमा लागेको उनीहरुको दाबी थियो । सरकारीस्तरमै सबै काम भएकाले पीडितहरुले मोटो रकम बुझाएको उनीहरुको तर्क थियो ।
त्यसैले उनीहरुलाई थुन्नैपर्ने उनीहरुको दलिल थियो । सरकारी वकिल अच्युतमणि न्यौपानेले देश बनाउन जनताले भोट दिएर जिताएका नेता तथा जनप्रतिनिधिहरुले जे गरे पनि हेरेरमात्रै बस्ने भनी प्रश्नसमेत गरे। जनप्रतिनिधिहरु खराब हुँदा हरेक नेपाली आमा, युवायुवती र वृद्धवृद्धाहरु चिन्तामा परेको अवस्था विकास भएको उनले बताए।
यो सबै सरकारको बदमासीले गर्दा यस्तो अवस्था आएको भन्दै उहाँले नक्कली भुटानी प्रकरणका सबै काम सरकारीस्तरमै अघि बढाएको दावी गरे।