काठमाडौं । आजदेखि सुरु हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन् । पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा तोकिएको थियो ।
विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित भएका हुन्। सोमबार मध्यराति सूचना प्रकाशित गर्दै परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ ।
अन्य संकायका पूर्वनिर्धारित परीक्षा सम्बन्धी कार्यक्रमहरू एक हप्ता पछाडि सार्ने गरी स्थगित गरिएको परीक्षा व्यवस्थापन कार्यालय प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ ।
अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै एक हप्तादेखि विद्यार्थीहरु आन्दोलित छन् । सोमबार राति विद्यार्थी र विश्वविद्यालयबीच सहमतिको प्रयास भए पनि विद्यार्थीले माग पूरा नहुँदासम्म परीक्षा सञ्चालन गर्न नदिने अडान लिएपछि परीक्षा स्थगित गरिएको हो ।