काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले सत्तरी वर्षको उमेरहद हटाउने निणर्य गर्नुपरेको स्पष्टीकरण दिएका छन्।
शनिबार अखिल नेपाल महिला संघ, वाग्मती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले उमेरहद हटाउने निणर्य गर्नुपरेको बताएका हुन्।
केहीले पार्टीको सो निणर्यको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप लगाउँदै ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भन्दै प्रश्न गरे।
“हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्यो । त्यसकारण हामीले हटाउने भन्यौं । यसमा फेरि हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस्न आउँदो महाधिवेशनमा । हुनुस्न अध्यक्ष, कसलाई मन लाग्छ,” उनले भने, “उपाध्यक्ष, महासचिव हुनुस् । झन् राम्रो भयो नि त । ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लड्न पाउने भए ।”
२०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै ओलीले त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। देशविरोधी शक्तिहरु एमालेविरुद्धमा लागिपरेको समेत ओलीको आरोप छ।