बुधवार, आश्विन २१ गते २०८३

दुई एनआरएनएका कार्यसमिती मर्ज, के भयाे सहमति ?

आइतवार , आषाढ ३, २०८०

विभाजित रहेका दुई एनआरएनए एकअर्कामा गाभिएका छन्। आईतबार गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष बद्री केसी र नयाँ एनआरएनए बनाएका विनोद कुँवर सहित जानकी गुरुङ र केसी पक्षका उपाध्यक्ष डीबी क्षेत्री र आरके शर्माबीच एकतासम्बन्धी ४ बुँदे सहमति बनेको हो। 

योसंगै गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको यथार्थलाई दुवै पक्षले स्वीकार गरेका छन् । अब भने सङ्घलाई सबैको अपनत्व रहने गरी एक साझा संस्थाका रूपमा अगाडि बढाउने र सङ्घको ११ औँ महाधिवेशन आगामी अक्टोबर महिनामा सम्पन्न गर्ने सङ्कल्प दुवै पक्षले गरेका छन् ।

जसअनुसार दुवै पक्षका प्रतिनिधिहरू रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने सहमति भएको छ ।  उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनौट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ ।

यसैगरी एघारौं महाधिवेशन र निर्वाचनमा दुवै पक्षका प्रतिनिधिहरूको सहभागितालाई सुनिश्चित गरिने भएको छ । त्यसका लागि विधानमा व्यवस्था भए बमोजिम स्वतः महाधिवेशन प्रतिनिधि हुने दुवै पक्षका आइसिसीका वर्तमान पदाधिकारी, सदस्यहरू, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्य र एनसिसिका वर्तमान तथा निवर्तमान अध्यक्ष लगायतका व्यक्तिहरू तथा विधानको प्राथमिकताको आधारमा छनौट हुने आइसिसी र एनसिसिका पदाधिकारी, सदस्य तथा अन्यलाई विधानमा व्यवस्था गरिए अनुसारको प्राथमिकताका आधारमा महाअधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति भएको छ ।

 यस्तै ११औँ महाधिवेशन पछि दुवै पक्षका आइसिसी र एनसिसिका विभिन्न पदमा रहेका पदाधिकारीहरू हैसियत पूर्व पदाधिकारी सरह हुने सहमति पत्रमा उल्लेख छ ।

यसैगरी दुवै पक्षका सदस्यहरूलाई वर्तमान एमआइएस प्रणाली अनुसार सदस्यता बन्ने व्यवस्था गर्ने पनि सहमति भएको छ ।  सदस्यता आवेदन बन्द भएका एनसिसिहरुमा अभिलेखीकरण मागी जुन ३० सम्म सदस्यता प्रमाणित गर्ने अवसर प्रदान गर्ने समझदारी पत्रमा उल्लेख छ । यो सहमतिले अक्टोबरमा हुने ११औँ महाधिवेशन र निर्वाचनलाई कुनै बाधा नपर्ने सहमति पत्रमा उल्लेख छ ।

गत दशौँ महाधिवेशनमा एनआरएनएभित्र दुई पक्षीय विवाद भएपछि संस्था विभाजित भएर दुई वटा एनआरएनए बनेको थियो । संस्थापन पक्षबाट बद्री केसीसहित कुल आचार्य र रविना थापा अध्यक्ष बनेका थिए  । यस्तै अर्को एनआरएनएको नेतृत्व विनोद कुँवरले गरेका थिए । कुँवर पूर्व अध्यक्ष शेष घले निकट मानिन्छन्।

यो सहमतिसँगै १० औं महाधिवेशनपछि दुईतिर अलग अलग क्रियाकलाप र एक अर्कामा आरोप प्रत्यारोपण गर्दै हिँडेको एनआरएनए अन्ततः एक ठाउँमा आएका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार