बिहिवार, आश्विन १५ गते २०८३

नेपालको सार्वजनिक ऋण  २१ खर्ब नाघ्यो, अर्थतन्त्र जोखिममा पर्नसक्ने विज्ञहरुको चिन्ता 

बुधवार , आषाढ ६, २०८०

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व  २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले  १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र  १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखाएको हो ।

सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप  चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ ।

जसमध्ये  दुई खर्ब ४० अर्ब आन्तरिक र रू दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ ।  चालु आर्थिक वर्ष २०७९-८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रहेको थियो ।

चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र  एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख बराबर ऋण थपिएको हो । नेपालको कुल गार्हस्थ्य उत्पादन जिडिपीको आकार  ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको पुगेको छ ।

जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नसक्ने विज्ञहरुको तर्क छ ।

नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण  ७४ हजार पाँच सय १६ पर्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार