काठमाडौं। शुक्रबार असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाईएको छ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ ।
जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने,जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ ।
यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ । यसबर्ष मध्य असारसम्म आईपुग्दा देशभर करिब १३ प्रतिशत मात्रै राए धान रोपाइँ सम्पन्न भएको छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र नभएर समग्र अर्थतन्त्रमा पनि असर पुग्नेछ ।
धान दिवस मनाएयताका पछिल्लो दुई दशकको मुख्य नारा हो; धानको उत्पादनमा बृद्धि । तर धान र चामलमा नेपालको परनिर्भता भने बढ्दो छ । चालु आर्थक बर्षको ११ महिनामा ३३ अर्ब ६३ करोड ४७ लाख रुपैयाँको धान तथा चामल आयात भएको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्षमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यसबिचमा धानको उत्पादन बृद्धिमा सरकारको कदम नारामा मात्रै सिमित भएको विज्ञहरु बताउँछन्
। उत्पादन बढाउने सरकारको उद्देश्य भएपनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभावलगायतका समस्या यथावत् छन् ।
यता विज्ञहरु भने असार १५ को राष्ट्रिय दिवसलाई सन्देशमुलक बनाउनुपर्ने भएपनि मञ्चमा बसेर धानको माला लगाउनेहरुले कुनै सन्देश नदिएको बताउँछन् । कृषिविज्ञ राजेन्द्र उप्रेतीले भीआईपीहरुले मनाउने धान दिवसले मनोरञ्जन र खेलोफड्को बाहेक अरु कुनैपनि सकारात्मक सन्देश दिन नसकेको जिकीर गरे।
नेपालमा अहिले प्रतिहेक्टर क्षेत्रफमा तीन टनसम्म धान उत्पादन भईरहेकाले नयाँ प्रविधिहरुको प्रयोग गरिए यही अवस्थामा नेपाललाई पुग्ने धान उत्पादन गर्न सकिने उनको बुझाई छ। उनले सुख्खा क्षेत्रमा धान खेती अँझ राम्रो फस्टाउन सक्ने भन्दै जलवायू अनुकूलित विउविजनको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए।
कति भयाे राेपाईं?
असारमा मध्यसम्म पनि मुलुकभर १२.७१ मात्रै रोपाइँ भएको सरकारी तथ्यांक छ। अघिल्लो वर्ष यसै समयमा ३०.७१ प्रतिशत रोपाइँ भएको थियो। सो तुलनामा यसपटक त्यसको आधा पनि रोपाइँ हुन सकेन। यसपटक मनसुन ढिलाइ हुँदा धान रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा रोपाइँ भएको छ। यी दुवै प्रदेशमा करिब २३–२३ प्रतिशत रोपाइँ भइसकेको छ। अझ गत वर्ष सोही अवधिमा कर्णालीमा ३८ प्रतिशत र सुदूरपश्चिममा ४३ प्रतिशत रोपाइँ भइसकेको थियो। अहिलेसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। गत वर्ष ११ प्रतिशत रोपाइँ भएको यहाँ यो अवधिमा ३ प्रतिशत मात्रै भएको छ।
कोसी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। यो प्रदेशको भने गत वर्षकै हाराहारीमा देखिन्छ। गत वर्ष कोसीमा यो समयसम्म १८ प्रतिशत रोपाइँ भइसकेको थियो। गत वर्ष असार १५ सम्म ३८ प्रतिशत रोपाइँ गरिसकेको बागमती प्रदेशमा यसपटक ५ प्रतिशत मात्रै रोपाइँ भएको छ। गण्डकी प्रदेशमा ७ प्रतिशत र लुम्बिनीमा ११ प्रतिशत रोपाइँ भएको सरकारी तथ्यांक छ। जबकी गतवर्ष सो प्रदेशमा क्रमशः ३४ र ३३ प्रतिशत भएको थियो।
कृषि विभागकाअनुसार देशभर खेती भइरहेको जमिन २५ लाख २५ हजार हेक्टर छ।
कति हुन्छ उत्पादन र आयात?
कृषि मन्त्रालयका अनुसार २०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको छ। यो परिमाण २०७८/७९ को तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी हो । बेमौसमी वर्षाले धानबालीमा क्षति हिुँदा २०७८/७९ मा ५१ लाख ३० हजार ६ सय २५ टन मात्रै उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष २०७७/७८ मा देशमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार २०७८/७९ मा ४५ अर्ब ५७ करोडको १० लाख ८३ हजार मेक्ट्रिकटन , २०७९/८० को ११ महिनामा ३३ अर्ब ६३ करोड रुपैयाँको ७ लाख २४ हजार मेक्ट्रिकटन को धान–चामल आयात भएको छ।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७९ करोडको १२ लाख ६६ हजार मेक्ट्रिकटन र आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ६५ करोड बराबरको ७ लाख १५ हजार मेक्ट्रिकटन चामल आयात भएको थियो।