काठमाडौँ । टोक्यो ओलम्पिकमा फिलिपिन्सलाई पहिलो स्वर्ण दिलाउने हिडिलिन मालामाल भएकी छिन् । उनलाई सरकारले सम्मान स्वरुप २ वटा घर र करोडौँ रुपैयाँ दिने भएको छ ।
टोकियो ओलम्पिक २०२० मा सोमबार भारोत्तोलन महिला ५५ केजी तौलसमूहमा हिडिलिन डियाजले फिलिपिन्सलाई स्वर्ण पदक जिताएकी हुन् । फिलिपिन्सले ओलम्पिक प्रतियोगितामा सहभागी भएको ९७ वर्षपछि पहिलो पटक स्वर्ण पदक जित्यो ।
फिलिपिन्स सन् १९२४ को पेरिस ओलम्पिकबाट प्रतियोगितामा सहभागी हुन थालेको हो । ऐतिहासिक पदक जितेसँगै सरकारले उनलाई सम्मानस्वरुप ३३ मिलियन पेसो (करिब ७ करोड ७८ लाख रुपैयाँ) दिने भएको छ । त्यस्तै उनलाई दुईवटा घर उपहार दिने पनि घोषणा गरिएको छ ।
३० वर्षीय हिडिलिनलाई चर्चित घरजग्गा व्यवसायी डा. एन्ड्रयु एल टानले क्वेजोन सहरमा एउटा घर दिने भएका छन् । ‘यो इतिहास बन्न लगभग ९७ वर्ष लागेको छ । हामी सबैलाई गौरवान्वित बनाएकोमा हिडिलिनलाई धन्यवाद दिने यो हाम्रो तरिका हो,’ मेगावर्ल्ड कोर्पोरेसनका प्रमुख रणनैतिक अधिकृत केभिन एल टान भन्छन् ।
उनका अनुसार हिडिलिनलाई क्वेजोन सहरस्थित इस्टवुड सिटीमा घर दिइनेछ । त्यस्तै अर्को रियलस्टेट कम्पनीले पनि राजधानी मनिलामा हिडिलिनलाई घर दिने घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ । चार पटककी ओलम्पियन हिडिलिनले कुल २२४ केजी तौल लिफ्ट गरेर स्वर्ण पदक जितेकी हुन् ।
यसअघि उनले २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् । टोकियो ओलम्पिकका लागि उनले मलेसियामा प्रशिक्षण लिएकी थिइन् । स्वर्ण पदक जितेपछि उनले आफ्नो सपना साकार भएको बताएकी छिन् ।
कोरोना संक्रमणका कारण जिमहरू बन्द भएकाले आफूलाई प्रशिक्षणका लागि कठिनाइ भएको पनि उनले सुनाइन । जिम बन्द भएकाले उनले बाँसमा दुईतर्फ पानीका जार बाँधेर अभ्यास गरेकी थिइन् । उनी फिलिपिन्स एयर फोर्समा सर्जेन्ट पदमा छिन् ।
राष्ट्रपति रोड्रिगो दुतेर्ते, उच्च सुरक्षा अधिकारी, व्यवसायीलगायत आमसर्वसाधारणले फिलिपिन्सलाई ऐतिहासिक उपलब्धि दिलाएकोमा धन्यवाद र बधाई दिएका छन् ।