जुनु घिमिरे।
मन्दिरको छानो भन्दा विद्यालय ठुलो बनाऊँ
मासिदैछन् पाटीपौवा बरु एउटा कुवा खनाऊँ
धरतीका गहना हुन् बनजंगल खोला पहाड
यि हातले कहिले पनि नपारुन माटो उजाड
हिमालको काखबाट सलसल नदी बग्छन्
त्यही नदी सहरमा दुर्गन्धित किन लाग्छन् ?
सहरका खोलानाला ढल भित्र भासिदै छन्
जोगाउन नसकेमा पहिचान नासिदै छन्
चौतारीका बर पिपल हावासँगै गीत गाउँछन्
स्वर्ग जस्तो देश हाम्रो कन्दराले मित लाउँछन्
वनस्पती रसाउँछन् माटो सँगै मिलिजुली
खोला झरना सुसाउँछन् मान्छेसँगै खेलिखेली
प्रकृतिको उपहार बचाउँन सक्यौँ भने
सम्झने छन् सन्ततिले जोगाएर राख्यौँ भने
केहि हुन्न भन्छौँ हामी तर यहीँ सुन फल्छ
मेहेनती हातपाए माटो आफैँ धप्प बल्छ
हावापानी माटोसँगै जीवन कथा जुट्छन् तर
मान्छेले नै प्रकृतिको सुन्दरता लुट्छन् तर
जडिबुटी फलाउने भिर पाखा चिनाई दिऊँ
गर्ब गर्ने इतिहास सन्तानलाई बनाई दिऊँ
हिमाल देखि तराईसम्म एकछत्र हावा बहोस्
घरैदेखि एकताको मन्त्र बनाई सन्देश जाओस्
मन्दिरको गजुर जस्तै स्कुलको छानो टल्किओस्
नेपालको सान हाम्रो सगरमाथा सधैँ चम्किओस्
प्रकृतिलाई जोगाएर राख्न सके मान्छे बाँच्छ
नसकेमा प्रकृतिले एकदिन पक्कै ढाँट्छ
हिमाल पहाड खोलानाला बनजंगल बचाएर
यहि माटोमा जीवन रोपौँ सपनालाई सजाएर ।