भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरवाल र रोहतास जिल्लामा आठ जना, औरंगाबाद र पूर्वी चम्पारणमा दुई-दुई जनाको मृत्यु पुष्टि भएको छ ।
यस्तै कैमुर, किशनगञ्ज, बांका, सिवान, नालन्दा, अररिया, सीतामढी, मुजफ्फरपुर, वैशाली, सिवान र सारण जिल्लामा चट्याङ लागेर एक-एक जनाको मृत्यु भएको छ ।
खरीप सिजनको तयारीमा खेतमा काम गर्ने क्रममा अधिकांश मानिसको ज्यान गएको हो । मुख्यमन्त्री नितिश कुमारले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाका परिवारलाई चार-चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
भारतीय मौसम विज्ञान विभागले आगामी दिन बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ ।
सरकारी तथ्यांकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।